काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र सहज छैन भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभामा उनले हाल मुलुकसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेकाले अर्थतन्त्र सुधारतर्फ रहेको दाबी गरेका हुन् ।
‘गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि, त्यसले सिंगो देशको स्वाधीनता र अस्तित्व संकटमा पर्ने हो कि भन्नेजस्तो परिस्थिति विद्यमान थियो’ प्रधानमन्त्री दाहालले भने ‘तर बाहृय क्षेत्र सन्तुलनमा राख्न तात्कालीन अवस्थामा सरकारले लिएका नीतिका कारण त्यस्तो संकटको सम्भावना टरेको छ ।’ यसले पनि अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको प्रस्ट पार्ने उनको भनाइ छ । अब आर्थिक गतिविधिलाई चलायमान बनाउने, अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउनेतर्फ नै सरकारको ध्यान गएको उनले बताए ।
ब्याजदरलाई एकल बिन्दुमै सीमित राख्नका लागि आफूले राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिइसकेको दाहालले बताए । नेपाल बैंकर्स संघले पनि हाललाई ब्याजदर नबढाउने निर्णय गरिसकेको हुनाले व्यवसायीहरूका निम्ति सहज वातावरण बन्दै गएको उनले बताए ।
हाल मुद्रास्फिति नियन्त्रणभित्रै रहेको उनले बताए । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाहृय बजारको मूल्यमा निर्भर रहन्छ । तैपनि उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारको तर्फबाट घाटा सहेर भएपनि मूल्य नियन्त्रण गरिएको छ’ उनले भने । कोभिड महामारी, बाहृय युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारणले केही निर्माण सामग्रीको मूल्य बढ्दा निर्माण क्षेत्रको लागतसमेत बढ्न गएको दाहालको भनाइ छ ।
दाहालले ठेक्का सम्झौताअनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम गर्न निर्देशन दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू समाधानका लागि सबै जना जिम्मेवार बन्नुपर्ने बताए ।
‘देशको समृद्धि र विकाससम्बन्धि निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गर्ने निर्माण व्यवसायीहरूबारे आम जनताका गुनासोहरूप्रति हाम्रो ध्यान गएको छ। निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू यस क्षेत्रमा देखिएका छन्। तसर्थ, यस्ता विषयहरूमा निर्माण व्यवसायीहरू अत्यन्त जिम्मेवार भएर काम गर्न जरूरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ठेक्का लिनुपूर्व व्यवसायको सामथ्र्य, मानव संशाधनको स्थिति र समयमै काम गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयको समेत अध्ययन आवश्यक छ ।’
निर्माण व्यवसायीहरू संगठित भएर राज्यसँग समन्वयका आधारमा निर्माणका कामलाई तोकिएकै समय, तोकिएकै गुणस्तर र मापदण्डमा पूरा गर्ने प्रतिवद्धताका निम्ति महासंघको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।
प्रतिक्रिया