पशुपतिको जलहरीमा अनियमितता भएकाे अख्तियारको निष्कर्ष

पशुपतिको जलहरीमा अनियमितता भएकाे अख्तियारको निष्कर्ष



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । अनुसन्धान टोलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष निकालेको हो ।

इमान्दारितापूर्वक काम भएको भए मुचुल्कामा पछि थपघट गर्नुपर्ने अवस्था नरहेकाे भन्दै अख्तियार स्रोतले भन्यो, ‘जहिले छानबिन सुरु हुन्छ वा अनुसन्धान अघि बढ्छ । त्यसपछि कागजात सच्याउने, सुन भेटिने काम भएको छ । त्यसका आधारमा अनियमितता भएको निष्कर्ष निकालिएको हो ।’

१२ फागुन २०७७ मा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी निर्माण गरी राखिएको भन्ने ब्यानर नै तयार गरिएको थियो ।

पशुपति क्षेत्र विकास कोषले १०३ किलो ७७३ ग्राम सुन किनेको हिसावकिताव छ । त्यसमा २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम पित्तल, १२ ग्राम जिंक समेत गरी १०७ किलो ९२४ ग्राम सुन कायम गरियो । १०८, १००८ जस्ता अंश शुभको प्रतिक मानिने भएकाले १०८ किलो सुनको जलहरी राख्ने भनिएको थियो ।

जलहरी बनाएर तयार पारिएको मुचुल्कामा ९६ किलो ८२२ ग्राम सुन खपत भएको उल्लेख छ । १०८ किलो सुन खरिद भएकोमा बाँकी सुनको हिसाब नमिलेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो ।

महालेखाको त्यतिबेलाको प्रतिवेदन अनुसार, ८० करोड ११ लाख रुपैयाँमा १०३ किलो ७७३ ग्राम सुन किनेको कोषले बाँकी १० किलो ९७६ ग्राम सुन कहाँ राख्यो भन्ने खुल्दैनथ्यो । विनिमय दर अनुसार सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ थियो ।

प्रश्न उठेपछि कोषकै असन्तुष्ट पदाधिकारीले अख्तियारमा उजुरी दिएका थिए । उजुरी परेको लामो समयसम्म पनि अख्तियारले स्थलगत अध्ययन गरेकाे थिएन ।

केही दिनपछि प्रतिनिधिसभामा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिकाे जलहरीमा भ्रष्टाचार भएको भनी प्रश्न उठेपछि एमाले सांसदहरुले प्रतिनिधिसभाको बैठक नै अवरुद्ध गरेका थिए ।

त्यसपछि १० असार, २०८० मा अख्तियारले पशुपतिनाथ मन्दिरबाट जलहरी निकालेर सुन जोखेको थियो ।

स्थलगत अध्ययनबारे अख्तियारको टोलीले कुनै प्रतिक्रिया नदिए पनि कोषका पदाधिकारीहरुका अनुसार, त्यतिबेला जलहरी र पेटी समेत जोख्दा १०७ किलो ४६८ ग्राम तौल देखिएको थियो । त्यसमा पेटीको तौल पुगनपुग ९ किलो थियो, जुन मुचुल्कामा उल्लेख थिएन ।

स्थलगत निरीक्षणको दुई सातापछि पशुपति क्षेत्र विकास कोषले सरसफाइ गर्ने क्रममा ५३ तोला सुन भेटिएको भनी पदाधिकारी र कर्मचारीले मुचुल्का गरेका थिए । कोषका पदाधिकारीहरुले जलहरी निर्माणमा प्रयोग भएको बाँकी सुन, टुक्रा र धुलोका कण संकलन गरेर राखिएको र जोखेको थप सुन भेटिएको दाबी गरेका थिए ।

सुनको तौल, मुचुल्का र यथार्थ अवस्था फरक भेटिएको हो । जलहरी निर्माणमा भएको खर्चको अवस्था पारदर्शी नदेखिएकाेले अख्तियारले अनियमितता भएको निष्कर्ष निकालेको हो ।