राष्ट्रियसभा निर्वाचनमा १९ पदका लागि ५२ जनाको उम्मेदवारी (सूचीसहित)

राष्ट्रियसभा निर्वाचनमा १९ पदका लागि ५२ जनाको उम्मेदवारी (सूचीसहित)



काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएको छ । राष्ट्रियसभाकाे १९ पदका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कोशी प्रदेशमा दुई सिटका लागि चुनाव हुनेमा पाँचजनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् । गठबन्धनबाटै महिलामा नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले उम्मेदवारी दिएकी छन् ।

नेकपा एमालेको तर्फबाट अन्यमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दिएकी छन् । त्यस्तै, यहाँ राप्रपाबाट पुरुषतर्फ उद्धव पौडेल उम्मेदवार बनेका छन् ।

मधेस प्रदेशमा पाँचजनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनबाट अन्यमा कांग्रेसका आनन्द ढुंगानाले उम्मेदवारी दिएका छन् । त्यस्तै, महिलातर्फ जसपाकी पूजा चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् ।

एमालेबाट महिलामा पर्साकी उसादेवी थरुनीले उम्मेदवारी दर्ता गराइन् । एमालेले अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुतलाई उमेदवार बनाउने निर्णय गरेको थियो । तर, उनको नाम मतदाता नामावलीमा नभेटिएछि विजेता झालाई उम्मेदवारी बनाएको छ । त्यसैगरी जनमत पार्टीले मधेसमा शंकर महासेठलाई उम्मेदवारी बनाएको छ ।

बागमती प्रदेशमा चार पदका लागि हुन लागेको चुनावमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । गठबन्धनबाट अन्यतर्फ कांग्रेसका जीतजंग बस्नेतले उम्मेदवारी दिएका छन् । त्यस्तै, महिलामा कांग्रेसकै विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराइन् । अपांगता/अल्पसंख्यकतर्फ माओवादी केन्द्रका श्रीराम अधिकारीले उम्मेदवारी दिएका छन् । गठबन्धनकै साझा उमेदवारको रूपमा दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजालले उम्मेदवारी दिएका छन् ।

एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, अन्यतर्फ त्रिलोचन निर्मल पौडेल र अपांगता/अल्पसंख्यकतर्फ विवके देवकोटा र दलिततर्फ ध्रुवराज विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

राप्रपाले बागमती प्रदेशको अपांगतर्फ भरतमणि भट्ट, महिलातर्फ बालकुमारी डल्लाकोटीलाई उम्मेदवार बनाएको छ । अन्यतर्फ हेमजंग गुरुङको उम्मेदवारी दर्ता भएको छ । बागमती प्रदेशमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दर्ता गरेको छ । उस्ले अपांगता/अल्पसंख्यकतर्फ हिमालयश्वर मुल, अन्यबाट श्रीकृष्ण महर्जन, दलिततर्फ संगीता नेपालीलाई बागमती बनाएको छ । महिलातर्फ कृष्णलक्ष्मी दुबालको मनोनयन दर्ता भएको छ ।

गण्डकी प्रदेशमा आठजनाको उम्मेदवारी परेको छ । यस प्रदेशमा तीन पदमा हुने चुनावका लागि उम्मेदवारी परेको हो । यहाँ सत्ता गठबन्धनको तर्फबाट अन्यमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, अल्पसंख्यक/अपांगतामा पदमबहादुर परियारले उम्मेदवारी दिएका छन् । महिला समूहतर्फ माओवादी केन्द्रकी मनरूपा शर्माले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

एमालेबाट महिलामा सम्झना देवकोटा अन्यतर्फ चक्रबहादुर पराजुली र अपांगता/अल्पसंख्यकतर्फ हेमचन्द्र शेरचनले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, राप्रपाले पनि यहाँ उम्मेदवारी दिएको छ । अन्यतर्फ रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेशमा सातजनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट महिलामा कांग्रेसकी विष्णुकुमारी सापकोटाले उम्मेदवारी दिएकी छन् । गठबन्धनकै तर्फबाट अन्यमा माओवादीका झक्कु सुवेदीको उम्मेदवारी दर्ता भएको छ ।

एमालेबाट महिलातर्फ तुलसाकुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्तीक्षेत्री उम्मेदवारी बनेका छन् । राप्रपाले अन्यमा निरन्जन थापा र महिलामा विजया लक्ष्मी शाहीलाई उमेदवार बनाएको छ । यहाँ जनमत पार्टीले उम्मेदवार उठाएको छ । सत्ता गठबन्धनमा रहेको जनमतले बालगोबिन्द चौधरीलाई उम्मेदवार बनाएको छ ।

कर्णाली प्रदेशमा ६ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट अन्यमा कांग्रेसका कृष्णबहादुर रोकायाको उम्मेदवारी परेको छ । महिलामा एकीकृत समाजवादीकी सावित्रा मल्ल दलिततर्फ माओवादीका विष्णु विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

एमालेबाट महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट र दलिततर्फ हिक्मत बिकलाई उम्मेदवार बनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा ६ जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनको तर्फबाट अन्यमा कांग्रेसका बलदेव बोहोरा, अपांगता/अल्पसंख्यकमा नारायणदत्त भट्टको उम्मेदवारी परेको छ । महिलातर्फ माओवादीकी रेणु चन्दको उम्मेदवारी परेको छ ।

त्यस्तै, एमालेबाट सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्रादेवी घिमिरे, अन्यतर्फ ईश्वरीप्रसाद खरेल र अपांगता/अल्पसंख्यकतर्फ रामचन्द्र जोशी उम्मेदवार बनेका छन् ।