इन्डोनेसियामा ज्वालामुखी विस्फोट

इन्डोनेसियामा ज्वालामुखी विस्फोट



जकार्ता । पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमद्वारा सार्वजनिक तस्वीर तथा भिडियोमा देख्न सकिन्छ ।

यो ज्वालामुखीबाट यस वर्षको सुरुदेखि अहिलेसम्म भएका करिब १०० वटा विस्फोटको पछिल्लो घटना हो ।

उत्तरी मालुकु प्रान्तको हलमहेरा टापुमा रहेको माउन्ट इबुमा स्थानीय समयअनुसार दिउँसो १२ः४५ बजे विस्फोट हुँदा खरानीको बाक्लो बादल हावाले धेरै माथि र टाढासम्म पुगेको भूगर्भ विभागका प्रमुख मोहम्मद वाफिदले बताए ।

मे महिनाको मध्यदेखि देशको उच्च सतर्कता तहमा रहेको ज्वालामुखीबाट निस्केको विस्फोट ६ मिनेट १३ सेकेन्डसम्म चलेको उनले बताए ।

राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले आइतबार एक विज्ञप्ति जारी गर्दै ज्वालामुखीको निगरानी केन्द्र र त्यसको छेउमा रहेको उद्धार गृहतर्फ हावाले खरानी पुर्‍याएको तर उद्धार गरिएका व्यक्तिमा कुनै त्रास नरहेको उनले बताएका छन् ।

“मानिसहरूलाई बाहिरी गतिविधिबाट जोगिन र घरभित्र आश्रय लिन सल्लाह दिइएको छ भने बालुवा मिसिएको खरानी अझै पनि वर्षा भइरहेको छ,” अब्दुलले बताए ।

उनले श्वासप्रश्वासमा समस्या आउन नदिन मास्कको प्रयोग गर्न आग्रह गरे ।

मे १६ मा ज्वालामुखीलाई उच्च सतर्कता तहमा पुर्‍याइएपछि अधिकारीहरूले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखीको केन्द्र चारदेखि सात किलोमिटर (२.५–४.३ माइल) को बीचमा बहिष्करण क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिएका थिए ।

स्थानीय विपद् न्यूनीकरण निकायको तथ्याङ्कअनुसार अधिकारीहरूले त्यसको केही समयपछि नै त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सुरु गरेका थिए भने आइतबारसम्म दुई हजार ५०० भन्दा बढी मानिसहरूलाई आश्रयस्थलमा सारिएको थियो ।

इबु इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखी स्थलमध्ये एक हो । यहाँ गत वर्ष २१ हजारभन्दा बढी विस्फोट भएका थिए ।

जियोलोजी एजेन्सीका अनुसार इबुमा सन् २०२३ मा दैनिक औसत ५८ वटा विस्फोट भएका थिए ।

इन्डोनेसिया, एक विशाल द्वीपसमूह राष्ट्र, प्रशान्त ‘रिंग अफ फायर’ रहेको कारण बारम्बार भूकम्पीय र ज्वालामुखी गतिविधिको सामना गर्नुपर्छ ।

गत महिना उत्तरी सुलावेसी प्रान्तको माउन्ट रुआङमा आधा दर्जनभन्दा बढी पटक विस्फोट हुँदा आसपासका टापुका हजारौं बासिन्दालाई अन्यत्र जान बाध्य बनाएको थियो ।