कृषि गर्ने जमिनको क्षेत्रफल घट्याे, कृषक परिवार बढ्याे

कृषि गर्ने जमिनको क्षेत्रफल घट्याे, कृषक परिवार बढ्याे



काठमाडौं । नेपालमा कृषि गर्ने जमिन घटेकाे र कृषि गर्ने जनसंख्या भने बढेको पाइएको छ । साताैं कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यस्तो जानकारी दिएको हाे ।

नयाँ विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालकाे तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हाे । अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो ।

नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाख परिवारले वृद्धि भएको छ । नया तथ्यांकअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो परविार संख्या ३८ लाख ३१ हजार थियाे ।

कृषिगणना २०७८ अनुसार पनि नेपालमा सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली लगाएको पाइएको छ । २५ लाख ८६ हजार १८३ हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली लगाएको हो ।

गणनामा अन्य बालीहरूमा क्रमशः कोसे/दाल बाली (१,९९,८४४.८ हेक्टर), तेल बाली (१,८०,१४१.१ हेक्टर), तरकारी बाली (१,०७,७३३.८ हेक्टर), कन्दमूल बाली (१,०४,७३७.८ हेक्टर), मसला बाली (५६, ८९३.५ हेक्टर) र नगदे बाली (४४,६०९.३ हेक्टर) रहेको पाइएको छ।

बिहीबार सार्वजनिक गरिएको गणनाअनुसार धान बाली लागेको क्षेत्रफल १२,१६,३८७.७ हेक्टर, मकैको क्षेत्रफल ५,५९,९०९.३ हेक्टर र गहुँको क्षेत्रफल ६,५४, १९४.३ हेक्टर हुन आएको देखिन्छ । नेपालमा बाली सघनता दर १.९१ देखिएको छ। यो सूचकले नेपालमा कृषकहरूले वर्षमा सरदर दुई बाली लगाउने गरेको ईंकित गरेको छ । गत कृषिगणना २०५८ र २०६८ मा यो दर क्रमशः १.८३ र १.८५ देखिएको थियो ।

स्थायी बालीमा बगैँचाको रूपमा लगाइएको आँपको क्षेत्रफल १९,७८१.७ हेक्टर, केराको क्षेत्रफल ७,८९८.२ हेक्टर र सुन्तलाको क्षेत्रफल ६,५४५. ३ हेक्टर, कागतीको क्षेत्रफल २,८०६.९ हेक्टर र स्याउको क्षेत्रफल ३,०८०.२ हेक्टर हुन आएको देखिन्छ । यी सबै फलफूल बालीहरूको क्षेत्रफल गत कृषि गणनाको भन्दा बढेको देखिएको छ ।

कृषिगणना २०७८ ले नेपालमा कृषिकार्यको लागि ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या दोब्बर भएको देखाएको छ । कृषिगणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना २०७८ ले यो सङ्ख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको हो ।

यसैगरी सन्दर्भ अवधिमा ४,७१,२६० कृषक परिवारले कृषिकार्यकालागि पावरट्रिलर प्रयोग गरेको र १,१७,९९१ वटा पावरट्रिलर सञ्चालनमा रहेको देखिन्छ । यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको सङ्ख्यामा उल्लेखनीय रूपमा गिरावट आएर ८५६, २८३ बाट ५०९.८२५ वटा हुन पुगेको देखिन्छ । त्यस्तै कृषिगणना २०७८ ले ४२,००८ कृषक परिवारले ४८,७६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ । यसरी माछापालन गरिएका पोखरीहरूको कूल क्षेत्रफल १०,३८३ हेक्टर रहेको समेत यो गणनाले औँल्याएको छ । अघिल्लो कृषिगणना २०६८ ले यस्ता कृषक परिवारको सङ्ख्या १७,१९१, पोखरीको सङ्ख्या २१,२७७ र पोखरीको जम्मा क्षेत्रफल २,५१९.७ हेक्टर देखाएको थियो ।

यो गणनाको प्राप्त नतिजाले १७,५५४ कृषक परिवारले च्याउखेती गरेको देखाएको छ । गणनाको प्राप्त नतिजाअनुसार १,९६,८५४ कृषक परिवारले ५, १०,४१४ वटा घारमा मौरीपालन गरेको पाइएको छ । अघिल्लो कृषिगणना २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको सङ्ख्या १२४,१५० पाइएको थियो ।

यो गणनाको प्राप्त नतिजाले १०,३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्पखेती / नर्सरीखेती गरेको देखाएको छ । कृषिगणना २०७८ अनुसार ४,८३,२०८ (११.७ प्रतिशत) कृषक परिवारले कृषि प्रयोजनको लागि ऋण लिएको बताएका छन् भने २०६८ को गणनामा यसप्रकारको ऋण लिएको भनी उल्लेख गर्ने कृषक परिवारहरू ८,३५,९२१ (२१.८ प्रतिशत) रहेको देखिएको थियो।