चराको गीत

चराको गीत



चराले सधैं उज्यालोको गीत गाउँछ
निविड–निष्पट्ट–निर्जन रातका विरुद्ध
सुप्रभातको गीत गाउँछ

अँध्यारोको विरुद्धमा जून पनि लड्छ
जूनकीरीहरु पनि लड्छन्
रातका विरुद्ध लड्दै
जून, जूनकीरी र ताराहरु मरिसक्दा पनि
उज्यालो नआउँदा
चरा चिरविराउँदै मुक्तिको गीत गाउँछ ।

चरालाई
सुनको पिँजडाभन्दा उन्मुक्त–निबन्ध जङ्गल मनपर्छ
स्वतन्त्रताभन्दा ठूलो भगवान्
चरालाई अर्को छैन
चराले सधैं पखेटा फट्फटाएर
पिँजडाको विरुद्धमा गीत गाउँछ
चराले सधैं स्वतन्त्रताको गीत गाउँछ
आफ्नो खाने गाँस चराले आँफै जुटाउँछ
चराले आफ्नो बास आँफै बनाउँछ
आफ्नो लागि चराले सबथोक आँफै गर्छ
कर्मण्येवाधिकारस्ते…चराले सधैं
कर्मको नवनिर्माणको गीत गाउँछ
म पनि अध्यारो विरुद्ध लड्न चाहन्छु
बन्धन विरुद्ध बज्रिन चाहन्छु
मुक्त–उन्मुक्त हुन चाहन्छु
चराले जस्तै
चेतनाको गीत गाउन चाहन्छु
साँच्चै
म चराको गीत गाउन चाहन्छु ।