प्रकृति प्रेमीहरुको प्रकृति

प्रकृति प्रेमीहरुको प्रकृति



प्रकृतिको शक्ति अपरम्पार हुन्छ भन्ने थेगो र बिश्वास जिब्रोदेखि मस्तिष्कसम्म गढेको पंक्तिकार प्रकृतिभित्र हराइरहेको रमाइरहेको समयमा हात प-यो– प्रकृति ।

प्रकृति पुस्तकको नाम हो । प्रकृतिप्रेमी प्रकृति सेवकहरुको प्रकृतिसँगको ज्ञान ध्यान र अनुभवको संग्रह हो– प्रकृति ।

नाम अति सुन्दर । आबरण उस्तै सुन्दर । लेखकहरुको ज्ञान, बिज्ञान, योगदान, त्याग, संघर्ष र समर्पण झन् सुन्दर । सिक्नुपर्ने पाठहरुको भण्डार लाग्यो यो पुस्तक । उहिले, पहिले र अहिलेको नीति, कार्यक्रम, कार्यशैली, ईमान्दारी, बफादारी र बहादुरीको रोचक प्रसँगहरुले ध्यान खिचिरह्यो ।

सम्पादक डाक्टर साहेबहरुलाई आज पर्यन्त म चिन्दिनँ । फिजिकल भेटघाट भएको छैन । सामाजिक सञ्जालमार्फत सामान्य चिनाजानी हो डा. हिमलाल श्रेष्ठसँग । समाजिक सञ्जालबाट नै हाम्रो माया र बिश्वास झाँगियो । जब उहाँले यो सुन्दर दुर्लभ पुस्तकको लागि मसँग एउटा लेखको अपेक्षा राख्नुभयो, म झन् अनुग्रहित भएँ । लेखकमा दर्ज भएको हर्ष र गर्वले पुकलित भएँ । तर कस्तो, कुन आयाम र क्षेत्रको लेख होला भनेर मैले निक्र्यौल गर्न नसक्दा मेरो लेख छुट्यो । एउटा लेख उपलब्ध गराएर झन बिबिधतायुक्त पुस्तक बनाउन मैले धोका दिएकोमा म क्षमा प्रार्थी छु ।

आफू प्रकृतिमा बिलिन भइरहेको बेला म छुटेको रेलले प्रकृति नाम गरेको पुस्तकको रुप धारण गरेर मेरो प्रकृतिप्रेमलाई उत्कर्षमा प¥याई दियो । म गौरवान्वित भएँ ।

नमन छ प्रकाशक इण्डिगो प्रा.लि. र सहप्रकाशक नेपाल बन प्राबिधिक संघलाई यो साहित्य सिर्जनाको लागि ।

नमन छ सम्पादकद्वय डा. हिमलाल श्रेष्ठ र डा. रोशन शेरचन तथा उहाँहरुको सम्पादक मण्डलको दूरदृष्टि, फराकिलो र गहिरो सोच तथा साहसिक पहलकदमीलाई । अग्रजहरुको अमूल्य ज्ञान अनुभव र साहित्य कलालाई लिपिबद्ध गरेर भावी पुस्तालाई हस्तान्तरण गर्ने शुभ चिन्तन र मननलाई । छरपष्ट प्रकृति र संरक्षणप्रेमी हस्तीहरुलाई एउटा पुस्तकरुपी मनमन्दिरमा एकट्ठा सामेल गरेर बौद्धिक मञ्च स्थापना गर्ने पवित्र उद्देश्यलाई ।
नमन छ उत्कृष्ट बनकर्मी लेखकहरुलाई ।

धेरै धेरै नमन छ यो प्रकृति पुस्तक प्रकृतिको काख हात्तीकुञ्ज बाहुनडाँगीमा उपहार दिएर माया र सम्मान गर्ने निकुञ्जकर्मी लेखक मेरा संरक्षण गुरु तथा आत्मीय मित्र रमेश थापालाई ।

हरेक लेख ध्यान खिच्ने, मन छुने, पाठ सिकाउने, उत्साह र उर्जा भर्ने हुँदाहुँदै समय र शब्दको पाबन्दीले यहाँ २ वटा लेखको चर्चा गर्ने जमर्को गरेको छु । डा. जगदिशचन्द्र बरालको भाषामा सायद उत्ताउलो जमर्को । सर्बप्रथम, म उहाँकै लेखबाट चर्चा सुरु गर्दछु । यसलाई समीक्षा भन्ने साहस मैले गर्न सकिन ।

उत्ताउलो फरेष्टर शीर्षक दिइएको उहाँको लेख पढेर घैंटामा घाम लाग्यो । उहाँलाई भेटेर हग् गर्न र ढोग्न मन लाग्यो ।

प्रायः पहलता शून्य र निर्णय शून्य संस्कारमा उहाँले बिरालोको होइन जिउँदो बाघको घाँटीमा घण्टी झुण्ड्याएको देखियो । असल नियत राखेर समुदाय र तिनको आँखा काखको बनजंगल अथवा प्राकृतिक श्रोत साधन सम्पदाको संरक्षण गरिदिँदा प्रारम्भमा उत्ताउलो, उपबुज्रुक, अति जान्नेसुन्ने, एकलकाटे जस्ता अप्रिय बिशेषणका बिषबाणी बर्षा भए पनि सहनशील र धैर्यवान भएर अर्जुनदृष्टिका साथ लक्षमा एकाग्र हुँदा उद्देश्य प्राप्त भइ छाड्ने देखियो । उपलब्धि र सफलताको फल कति मीठो । ईष्र्या र गालीको बर्षा स्यावासीमा परिणत भएको खुशियाली । पुरस्कारको ठेली प्राप्त हुँदाको गौरव । जीवनभरि आत्मसन्तुष्टि भइरहने गर्वबोध ।

बिश्व प्रशिद्ध सामुदायिक बनको सफलता र नेपालको गौरवशाली चिनारीबारे पढ्ने सुन्ने जान्ने मेरो उत्कट् अभिलाशा थियो । श्रद्धेय लेखकले खुलेर जमेर यो लेखमार्फत् गर्नु भएको अभिव्यक्तिले मलाई अर्को जुनिमा पुनः बनकर्मी भएर उहाँको साहस जमिनमा उतार्न मन लाग्यो ।

लेखककै शब्द सापट लिएर भन्नुपर्दा ढिलासुस्ती आलेटाले बिकृति तोड्न र सृजना प्रतिभाको फुल फुलाएर सुन्दर परिणाम निकाल्न लेखकजस्तो हिम्मतिलो र उत्ताउलो हुनैपर्दछ । दुस्साहस गर्नैपर्दछ । ऐन नियमभन्दा आउट अफ बक्स गएर ट्रयाकटू मार्फत् तीब्र छलाङ्ग हान्नैपर्दछ । तबमात्र चामत्कारिक उपलब्धि हात पर्दछ र पुरस्कारले पछ्याउँदछ ।

एउटा कर्मशील ध्यानी कर्मचारीले साहसिक भएर फलको आशा नराखी चुनौतिका फलामे ढोका फोर्दै जाने हो । असल नियतको संघर्ष जारी राख्ने हो । पुरस्कारलाई पछ्याउने होइन, पुरस्कारले पछ्याउने हो । लेखककोे सिद्धान्त, आदर्श, अभ्यास र प्रयोग र हरेक तह र तप्काका कर्मचारी र प्राविधिकहरुले अनुकरण गर्न जरुरी छ । त्यो स्वाभिमान अभ्यास र प्रयोगले हाम्रो सेवा र छविलाई आकाशमा पु¥याउने छ । सम्मान बढ्ने छ, चम्किने छ ।

उहाँको लेखको छोटो चर्चालाई बिट् मार्दै अव म रमेश थापाको लेखको चर्चा गर्न चाहान्छु ।

एउटा रेञ्जरले कठिन दुर्गम बिकट र अनकण्टार भुगोलमा ४५ दिन गरेको आरक्ष सर्भे र सीमाङ्कनको काम कति साहसिक, सम्मानजनक र कदरयोग्य ?

मैले गरेको कठोर कमाण्डो तालिम भन्दा कष्टकर र कठिन मिसन । न मीठो भोजन, न सजिलो ओछ्यान । न श्रोत साधन, न अतिरिक्त सेवा सुबिधा र भत्ताको व्यवस्था । न फलको आशा, न दुखेसो र गुनासो । केवल कर्ममा बिश्वास र गौरव मात्र ।

न संचार सुबिधा, न बजार । ३६ कोस लामो यात्रा गरेर एउटा ट्रेसिङ्ग पेपर नपाएर खाली हात फर्किनु पर्ने बिकटता र अभाव ।

एउटा रेञ्जर कति बहुआयामिक सीप र क्षमताले सम्पन्न हुनुपर्दछ, उहाँको लेखबाट प्रष्ट पाठ लिन सकिन्छ ।

कम्मरको पेटी, खुकुरी र लौरो रेञ्जरको साथी हो । अथवा, कम्मरमा कोत बोकेर रेञ्जरहरुले हिंश्रक जनावरको त्राश र जम्काभेटलाई पन्छाउनु टार्नु पर्दछ । अपरिचित डाँडा काँडा वन जंगलको यात्रा गर्नुपर्दछ र सर्भाइबलकला जानेको हुनुपर्दछ ।

दलबलसहित काम रोक्न आएका प्रधानपञ्चसँग रेञ्जरले कुशल सहजकर्ता, मध्यस्थकर्ता, वार्ताकार, कुटनीतिज्ञ भएर वार्ता गरेका छन् । सहमतिको बिन्दुमा पु-याएर काम जारी राखेका छन् । पछि, पगालेर काममा समर्थन र साथ सहयोग जुटाएका छन् ।

रेञ्जर सम्वेदनशील र कठोर दुबै हुनुपर्दछ । रेञ्जरको शारीरिक र मानसिक सहिष्णुता उच्च हुनुपर्दछ । रेञ्जर आउटडोरप्रेमी, टिमप्रेमी कामको किरो हुनुपर्दछ । जिम्मेवारी फच्चे गरी छाड्ने संकल्प लिएको प्रतिबद्ध फिल्ड कर्मचारी–प्राविधिक हो रेञ्जर भनेको । रेञ्जर बहुआयामिक सीप, दक्षता, क्षमताले संधै बिशिष्ट हुन्छ । सम्मानित हुन्छ । बिकट र संबेदनशील समयमा पहलकदमी लिन र निर्णय गर्न उ काबिल हुन्छ । रेञ्जरले शिरमा समुदाय र प्रकृतिलाई राखेर असल नियतले काम गरेको हुन्छ । रेञ्जर प्रशिक्षक, न्यायाधीश र पुलिस पनि हो । रेञ्जर अनुगमनकर्ता, मूल्यांकनकर्ता, समन्वयकर्ता, योजनाकार, अगुवा र नेतृत्व पनि हो । समयको मागअनुसार लेखकले सवै भूमिका चुस्त (स्मार्ट) दुरुस्तसँग पूरा गरेर मिसन सफल बनाएका छन् ।

जनसम्पर्क, सु–सम्बन्ध, समन्वय, सहकार्यमा रेञ्जर माहिर हुनुपर्दछ । टिमबिल्डङ्ग र टिमवर्क क्षमता रेञ्जरमा हुनैपर्दछ । सफलताको कडी नै त्यही हो ।

रेञ्जर समुदायप्रति नम्र भद्र र जबाफदेही हुनुपर्दछ । युवा रेञ्जर धेरै मायालु छन् र सरुवा भएपछि थकाली मित्रको घरमा मुटु छाडेर गहभरि आँशु बोकी ओरालो बाटो लागेका छन् । जनताको मन मस्तिष्क जित्न पनि रेञ्जर माहिर हुनुपर्दछ ।

ईम्प्रोभाइजेसन, सर्भाइवलकला, म्याप रिडिङ्ग, नेभिगेसनले रेञ्जरलाई बन बिज्ञ बनाएको हुन्छ । तर यो बिज्ञता कागजको ज्ञानमा सीमित नभएर रमेशको जस्तै डाँडा पाखा भिर खोला बेंसी भञ्ज्याङ्गमा पोखिनुपर्दछ । प्रयोग हुुनुपर्दछ । प्रकृतिले रेञ्जरहरुलाई व्यवहारिक, सृजनशील, बौद्धिक, तीष्ण र तेज बनाएको छ । आत्मविश्वासी बनाएको छ । त्यसैले धेरै रेञ्जरहरु स्वदेश विदेशमा अध्ययन गरेर डाक्टर बनेका छन् । उच्च आहोदामा पुगेका छन् । रेञ्जरका मिहेनत र प्रकृतिको आशीर्बादको कमाल ।

हुने विरुवाको चिल्लोपात भने झैंं रमेश थापा बनको काँडो जस्तै तिखारिदै गए । उत्कृष्ट रेञ्जरबाट उत्कृष्ट प्रशासक बने । पंक्तिकारलाई रमेश थापासँग संरक्षण सहकार्य गर्ने अपूर्व अवसर प्राप्त भयो । उहाँको उद्भूत नेतृत्वकला र क्षमतालाई लामो समयसम्म नियाल्न पाइयो । अवकाशपछि समेत संरक्षणमा उहाँको चिन्तन मनन, सक्रियता र समर्पण तारिफयोग्य छ । एकपटकको संरक्षणकर्मी आजीवन संरक्षणकर्मीको असल नमूना पात्र हो रमेश थापा । आज निकुञ्जको संरक्षण क्षेत्रमा रमेश थापा व्यवहारिक डाक्टर हुन् ।

ढोरपाटनमा त्यो पवित्र र महान् काम गर्ने लेखक र उहाँको टिमलाई सलाम छ ।

हामी हात्तीमाथिको मानव आतंकको समाधान खोज्न र सहअस्तित्वको वातावरण सृजना गर्न बाहुनडाँगीमा तैनाथ थियौं । हात्तीको कोरिडोर पूर्वी नेपालको तराई क्षेत्रमा दौडाहा मिसनमा थियौं । रातदिन सचेतना कार्यक्रम संचालन गरेर समुदायलाई आतंकित होइन शान्त भएर सहअस्तित्वको आदर्शमार्फत् जीवन रक्षा गर्न सकिन्छ भनेर प्रशिक्षण दिइरहेका थियौं । संयोगले ठीक त्यही समयमा “प्रकृति सहअस्तित्वको खोजी” पुस्तक हात पर्दा म हर्षित भएँ । आफूलाई भाग्यमानी सम्झें ।

यो पुस्तक सबै प्रकृतिप्रेमी र संरक्षणप्रेमी फिल्ड फ्रन्टलाइन स्टाफहरुको हातहातमा पुगोस् । सबै पुस्तकालयमा पुगोस् । वर्तमान र भावी बनकर्मी, निकुञ्जकर्मी संरक्षणकर्मीहरुलाई यो पुस्तकले दिब्यज्ञान र असल मार्गनिर्देशन प्रदान गर्नेछ । ऊर्जा र साहस भर्ने छ ।

साथै, विदेश पलायन, भुमिगत र ध्यानमा भएका पूर्ब बन र निकुञ्जकर्मी अग्रजहरुलाई आफ्नो अपूर्व ज्ञान, अनुभव, योगदान लेख, रचना, पुस्तकमार्फत भावी पिँढीलाई दिन र गुण लाउन झक्झकाउने छ । प्रकृतिबाट प्राप्त सुन्दर र दुर्लभ जीवन लीला अन्त्य भएर पुनः प्रकृतिमै चढाउने बिलाउने प्राकृतिक प्रक्रियासँगै त्यो अमूल्य ज्ञान र अनुभव माटोमा अथवा धुँवा भई आकाशमा नहरावस्, बरु पुस्तक भई पुस्तान्तरण होस भनी थालनी गरेको यो पवित्र र महान् अभियान अबिश्राम अघि बढिरहोस्, मेरो शुभकामना छ ।