आफ्ना सांसद एमालेमा जान लागेपछि माधवले खेले पार्टी एकताको कार्ड

आफ्ना सांसद एमालेमा जान लागेपछि माधवले खेले पार्टी एकताको कार्ड



काठमाडौं । अहिले पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष रहेको माओवादी केन्द्र र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीबीच एकताको चर्चाले बजार तातेको छ । एमालेसहितको सिंगो कम्युनिष्ट पार्टी बनाउने सिलसिलाअन्तर्गत एकताको छलफलले निरन्तरता पाएको भनेर नेताहरुले अभिव्यक्ति दिएका छन् ।

एमालेले कांग्रेससँग सत्ता गठबन्धन गरेपछि सिंगो कम्युनिष्ट पार्टी निर्माणको अभियानमा धक्का पुगेको माओवादी पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताएका छन् । एकपल्टको प्रयास बिग्रियो भनेर सधैँ बिग्रिने हुँदैन । त्यसैले वृहत् वामपन्थी एकता कम्युनिष्ट पार्टीको पुनर्गठनको लागि अनिवार्य छ’ प्रवक्ता सापकोटाले भने । तर, माओवादीले सिंगो कम्युनिष्ट पार्टी निर्माण गर्ने भनेर भाषण गर्ने चाँहि आफू सत्ताबाट बाहिर पुगेपछि हो । सत्तामा हुन्जेल आवश्यकता महसुस गर्दैन ।

प्रचण्ड सत्ताच्युत भएपछि माओवादीले फेरी सिंगो कम्युनिष्ट निर्माणको अभियानको चर्चा गर्न थालेको छ । माओवादीबाटै टुक्रिएको नेत्रविक्रम चन्दको पार्टी र माधव कुमार नेपालको पार्टी माओवादीमा समायोजन गर्न सके कांग्रेस एमालेलाई देखाउन पाइन्थ्यो भन्ने दाउमा प्रचण्ड छन् । एमालेमा छँदा अध्यक्ष केपी ओलीसँगको इखकै कारण नयाँ पार्टी खोल्न पुगेका माधव पनि कतै दह्रो खुट्टा टेक्न पाइन्छ कि भन्ने खोजीमै छन् ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पार्टी एकता हुन लाग्यो भन्ने हल्ला चलेपछि सोधिएको प्रश्नमा एकीकृत समाजवादीका प्रवक्ता जग्गनाथ खतिवडाले तत्काल माओवादी केन्द्र र एकीकृत समाजवादी एकताका लागि वार्ता नभएको बताए । प्रवक्ता जग्गनाथ खतिवडाले भने, ‘नेकपा एकीकृत समाजवादीको कुनै पनि पार्टीसँग एकीकरण गर्ने हाम्रो कुरा चलेको छैन’ । तर उनले कम्युनिस्ट पार्टीहरूको बिचमा समसामयिक राजनीतिक परिस्थितिका विविध पक्षहरूमा समीक्षा गर्न छलफल चालिरहेकै भने स्वीकारेका छन् ।

माओवादी र एकीकृत समाजवादीबीच एकता हुने चर्चा मिडियामा जति आएको छ, त्यत्ति धेरै राजनीतिक घटना विकसित भइनसकेको जानकारहरु बताउँछन् । एकताका लागि अध्यक्षद्वय नेपाल र दाहालबीच अनौपचारिक कुराकानी भएका छन् भने उनीहरुलाई नारायणकाजी श्रेष्ठ र घनश्याम भुलासले सहयोग गरिरहेको बुझिएको छ ।

एकीकृत समाजवादीका महासचिव भुषाल र माओवादी केन्द्रका उपाध्यक्ष श्रेष्ठबीच तीन चरणसम्म वार्ता भएको माओवादी श्रोतले बतायो । उनीहरुको वार्ता एकीकृत समाजवादीका १० सांसद एकीकरणमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने विषयमा केन्द्रित रहेको छ । एकीकृतका बहुमत सांसदको एउटा समूहले गोप्यरुपमा एमालेसँग पनि वार्ता गरिरहेको बुझिएको छ ।

एकीकृत समाजवादी अध्यक्ष नेपालसँग २ जना मात्र सांसद रहेको बताइन्छ । मेटमणि चौधरी र राजेन्द्र पाण्डे मात्र अध्यक्ष नेपालसँग रहन्छन् । सांसदमा अध्यक्ष नेपालको पक्कड रहेनछ भन्ने तथ्य हालै सम्पन्न एकीकृत समाजवादी पार्टीको महाधिवेशनमा पनि देखियो ।

एकीकृत समाजवादी पार्टी माओवादीमा विलय भयो भने बाँकी ७ जनाको समूह एमालेमा प्रवेश गर्न तयार रहेको बताइएको छ । बारा–४ बाट निर्वाचित कृष्णकुमार श्रेष्ठ र डोटीबाट निर्वाचित प्रेमबहादुर आलेले सार्वजनिक स्थानमै अध्यक्ष नेपाललाई गालीगलौज गर्ने गरेका छन् भने अछाम–१ बाट निर्वाचित शेरबहादुर कुँवर, सल्यानबाट निर्वाचित प्रकाश ज्वाला, बझाङबाट निर्वाचित भानुभक्त जोशी, डोल्पाबाट निर्वाचित धनबहादुर बुढा र दैलेखबाट निर्वाचित अम्बरबहादुर थापाले अध्यक्ष नेपालको खुलेर विरोध नगरे पनि अध्यक्षसँग सन्तुष्ट छैनन् ।

अवसर प्राप्त हुनेवित्तिकै यी सात भाइ एमालेमा प्रवेश गर्ने तयारी भित्रभित्रै गरेकाले एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले माओवादीसँग पार्टी एकताको हल्ला फैलाएको जानकारहरु बताउँछन् । यो एकताको हल्लाले एमालेलाई झस्काउने छ भन्ने बुझाइ अध्यक्ष नेपालको छ । तर माओवादीसँग एकीकृत समाजवादी विलय भयो भने त्यसको फाइदा एमालेलाई पुग्ने विश्लेषण गरिएको छ । उसैपनि एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका सासंदलाई एमालेमा ल्याएर संसदमा कांग्रेस भन्दा ठूलो दल बनाउने कोसिस गर्दै आएका छन् ।