तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने

तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने



काठमाडौं । यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार मालामात्र निर्यात भएको थियो ।

फ्यानका अध्यक्ष दिलीप बादेले अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकबाट समेत माग भएको जानकारी दिए । नेपाली धेरै बसोबास गर्ने अन्य देशमा पनि मालाको माग बढिरहेको उनको भनाइ छ ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भइसकेको फ्यानले जनाएको छ । यद्यपि, तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसका लागि प्रयोग हुने रातो गुलाफको फूलमा अझै आत्मनिर्भर हुन नसकिएको जनाइएको छ ।

यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलको माला चाहिने अनुमान गरिएकामा २५ लाख मालाका लागि मात्र नेपालमा फूल उत्पादन हुने गरेको र बाँकी भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको फ्यानले जनाएको छ ।

हरेक वर्ष बजार माग १५ देखि २० प्रतिशतले बढ्ने र मागअनुसार फूल उत्पादन हुन नसक्दा सयपत्री फूलमा आत्मनिर्भर हुन नसकेको फ्यानका अध्यक्ष बादेले बताए । उनका अनुसार गत वर्षभन्दा यस वर्ष सात लाख बढी मालाको बजार माग छ । गत वर्षको तिहारमा ३३ लाख मालाको माग भएको थियो ।

यस वर्ष तिहार उपयुक्त समयमा परे पनि गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण फूलखेतीमा ठूलो नोक्सानी बेहोर्नु परेको छ । वर्षाको कारण १५ करोड बराबरको नोक्सान भएको फ्यानले जनाएको छ ।

नेपालमा व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले लाभ लिएका फ्यानको तथ्यांक छ । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा एक हजार १८४ व्यवसायीले पुष्पखेती गर्ने गरेका छन् ।