प्रकृति कसको ?
सबैको । शक्तिशालीको । लुट्न सक्ने गुटको ।
संरक्षण कसको ?
खोई कसको कसको ? न यसको न उसको ।
ढुकुटी कसको ?
सत्ताको । सरकारको । साँचोमुचो लिने ब्यवस्थापकको ।
ढुकुटी भर्ने को हो ?
सारा जनता । संसारभरिका नेपाली जनता । भोका नाङ्गा जनता ।
ढुकुटी रित्याउने को हो ?
उही साँचोमुचोवाला सत्ता, सरकार र ब्यवस्थापक ।
बिलखबन्दमा परेकी मातृभूमिको घरातलीय यथार्थ र दुर्दसा यही हो । सजीब होस् निर्जीब, हाम्रो प्रकृति र संस्कृतिले बुझेको देखेको भोगेको यथार्थ पीडा यही हो ।
नयाँ बर्षको संघारमा पर्यटकीय सहर सौराहामा बाँधेर राखिएको चञ्चलकली हात्तीको सुँड धारिलो हतियार प्रयोग गरि काटिएको छ । गणेश भगवानको प्रतीक हात्तीको खानपिन बन्द भएको छ । हात्ती पीडाले कराइरहेको छ । छटपटाइरहेको छ । सत्ता, सरकार, ब्यबस्थापक, संरक्षक आँखा कान थुनेर बसेको छ । भोजभतेरमा रमाएको छ । एउटा मन्त्रालयको लागि कसैले टाङ्ग फटाएर राज्यको शासन ब्यबस्थालाई जाम् गरिदिएको छ । सायद चञ्चलकलीको पीडादायी गर्जनले भनिरहेको हुनुपर्दछ –
कहाँ छ राज्य ?
कहाँ छ हाम्रो सत्ता, सरकार, ब्यबस्थापक, संरक्षक ?
अति भयो अति !
खति होला खति !
सुँड काटिएको हात्तीको वर्तमान र भावी संसरक्षणको चर्चा गरेर समाधानका बिकल्पहरु पस्कन यो आलेख तयार पारेको छु ।
गर्विलो ईतिहास
हात्तीले युद्ध गरे । जिते । यातायात, गस्ती, उद्धारमा प्रयोग भए, हाम्रा अग्रजका ज्यान जोगाए । युरोपका राजा बादशाहलाई बोके, सिकार गराए, नेपाल चिनाए । बाघको सिकारमा सिकारी बोके, बाघ मारे र आजको अन्न भण्डार तराईलाई बस्न योग्य, खेतियोग्य बनाए । सिम्रनगढको लालपुर्जा ७ हात्ती उपहार दिएर प्राप्त भएको ईतिहासले हात्तीको महत्व र मूल्यलाई दर्शाउदछ । पृथ्वीको आश्चर्य विशाल एङ्करवाट मन्दिर ६ हजार हात्तीले बनाएका थिए ।
उहिले हाम्रो ४ कोसे झाडीको अनकण्टार तराईमा हजारौं हात्ती बिचरण गर्दथे । हजारौं हात्ती आज छिमेकी देश भारतमा छन् । हात्ती ब्यवस्थापन र संरक्षणको सुन्दर नीति र कानूनले ती हात्ती संरक्षित छन् । तिनको सानो अंश एक दुई सयको झुण्ड पुर्खाको स्वर्ग जस्तो बासस्थान खोज्दै नेपाल आवतजावत गर्दछन् । नेपालमा न खानपिन छ, न ब्यवस्थापन र सुरक्षा । ती हात्तीहरु शारीरिक र मानसिक पीडा तथा बलिन्द्र आँसु लिएर पुनः भारत फर्किन्छन् । हरेक बर्ष आधा दर्जनको अनायास क्षति मृत्यु बेहोरेर ।
राजतन्त्र हुँदा हात्तीलाई राजाको संरक्षकत्व प्राप्त थियो । भ्रमण भइरहन्थ्यो । हात्ती र हात्तीसारेको पिरमर्का सुनिन्थ्यो र तत्काल समाधान गरिन्थ्यो । एउटा हात्तीले ३ जना तालिम प्राप्त, अनुशासित र प्रतिबद्ध सुसारे पाउदथ्यो । बच्चा हात्तीले दरबारबाट सुन्दर नाम पाउदथ्यो । बिश्वमा, बन्यजन्तु र समग्र प्रकृति संरक्षणमा तिनै हात्तीको अद्भूत योगदानले गर्दा नेपालको नाम मान सान उच्च र कदरयोग्य थियो ।
कालो घृणित बर्तमान
आज नेपालको पहिचान र सम्मान कमाउने हात्तीको सुँड काटिएको छ । सँुड भनेको हात्तीको दुई हात हो । उसले दिनको २ सय केजि घाँस भाँच्नुपर्दछ, टिप्नुपर्दछ र पेट भर्नुपर्दछ ६ टनको भीमकाय ज्यान पाल्नलाई । त्यही सुँडले धेरै घैंटा पानी उघाएर पानीपेट भर्नुपर्दछ ।
साथै सुँड उसको ईण्टेलिजेन्स एन्टिना पनि हो । कहाँ बम बारुद बिछ्याएको छ ? कहाँ पासो र धराप राखिएको छ ? कहाँ ज्यान लिने दलदल छ र गहिरो पानी छ ? कहाँ बाघका डमरु छन् र गैंडाको बच्चा छ ? कहाँ गोही र सर्प छ ? सबै पत्ता लगाउने र आफू सुरक्षित रहेर अरुलाई पनि बचाउने काम त्यही सुँडले गर्ने हो । तर आज हात्ती सुँडबिहीन अवस्थामा छटपटाई रहेको छ ।
द्वन्दकालमा जिउदो गैंडाको खाग काटियो र चोरियो । गैंडा रक्ताम्य नाक लिएर कराएर हिड्यो । मैले गैंडाको पीडादायी आवाजलाई डिकोड गरें । गैंडा भनिरहेको थियो –
गुहार ! गुहार ! मलाई बचाउ ।
खोई मेरो नाक ?
मलाई फिर्ता देउ ।
छिटो जोडिदेउ ।
अति भयो अति ।
खति होला खति ।
नाक काटिएको गैंडाले रोई रोई मृत्युबरण ग-यो ।
मैले जंगी अड्डामा पिएसोजका अगाडि नेतृत्वलाई जाहेर गरें –
‘नाक गैंडाको, होइन, नेपाली सेनाको काटियो । काल निकुञ्जमा पल्कियो । खोलाले बगाएर हराएका हतियार सबै निकुञ्जभरि छन् । अब कि गरेर देखाउँ । कि मरेर देखाउँ ।’
नेतृत्वबर्गको मन मुटु छोयो सायद । त्यही ईष र दृढ संकल्पले हो द्वन्द्वकालका खाली निकुञ्ज शीघ्र बन्यजन्तुले भरिए । सिकारीले निकुञ्जमा खुट्टा परै जावस्, टाढा बाट कुदृष्टिले हेर्न समेत पाएनन् । त्यसैलाई हामीले ‘शून्य सिकार’ भन्यौं । र, उत्साहित भएर धेरै बर्ष लगातार शुन्य सिकार वर्ष मनायौं ।
आज मुलुकभरि खोरमा बाघ थुनिएका छन् । बाघको पीडा सुनिनसक्नु छ । उस्तै पीडा छ पहाड हिमालमा चितुवाको ।
उहिले ती बन्यजन्तुहरु झन् धेरै थिए । तर शान्त, खुशी र सुखी थिए । आज ती थोरै छन् तर अशान्त र पीडामा छन् ।
उसैगरी आज मध्यरातमा जादु झैं जिउँदो हात्तीको सँुड काटेर बेपत्ता पारिएको छ ।
गर्बिलो संरक्षण ईतिहासमा कालो धब्बा । गर्वयोग्य बिशिष्ट धर्म, संस्कृति मूल्य मान्यतालाई ध्वस्त पार्ने काम ।
तसर्थ, सुँड होस या नाक या हात, हात्तीको होइन, हात्तीको कथित् मालिक याने कि सत्ता र सरकारको काटिएको छ ।
दोष कसको ?
हात्तीको मालिकलाई सोझै दोष दिन्न । तर सत्य कुरा के हो भने हात्तीको सुँड माउतेले फकाएर, मन जितेर झुक्याएर बाहेक अरु कसैले छुन सक्दैन । जुन असम्भव छ ।
यो राष्ट्रिय लाजको पारदर्शी छानबिन होला नै । सत्यतथ्य पत्ता लाग्नै पर्दछ । लाग्ने छ । तर पल्किएको कालको रुप रंग भयानक छ । ब्यवस्थापन शीघ्र जरुरी छ । चर्चा, हो त्यो ब्यवस्थापनको गर्न मनासिब हुनेछ ।
राज्यका अगाडि ब्यक्ति बिशेष सुक्ष्म हुन्छ । गौण हुन्छ । निरीह हुन्छ । तसर्थ, दोष राज्य याने कि राज्य संचालन गर्ने सत्ता र सरकारको बढी छ । सुन्दर प्रकृति र प्रकृतिका उपहार बन्यजन्तुको हेरचाह, रेखदेख, ब्यवस्थापन र संरक्षणमा सत्ता ज्यादै असंबेदनशील र मुक्दर्शक छ । कसरी ? त्यसको चिरफार गरेर हेरौं –
बि.सं. २०२२ को करिब ६० बर्ष पुरानो हात्ती ब्यवस्थापन नियमावली पुनरावलोकन समेत भएको छैन । हात्तीसारका हात्तीलाई पुर्खाले निर्धारण गरेको रासन पुग्यो पुगेन हात्तीलाई समूल टिबि रोग लाग्दा समेत त्यो पुनराबलोकन भएन ।
आफू र राज्यलाई राजश्व उठाउन बढाउन भनेर निजी उद्यमीहरुले छिमेकी देश भारतबाट हात्ती खरिदमा भाडामा ल्याए, पाले, प्रयोग गरे । तर, ती निजी होल्डिङ्गका करिब ७५ हात्ती ब्यवस्थापनलाई राज्यले न नीति बनाई दियो, न चरन दियो, न बिक्री बितरणलाई सहजिकरण गरिदियो । निजी ब्यापारीहरुले कसरी कहाँबाट के ख्वाएर पाल्नु ती भीमकाय हात्तीहरु । बरु लोकसेवाबाट पारदर्शी र समावेसी प्रक्रिया भन्दै महिला माउते भर्ती गरेर भीमकाय हात्तीको पिठ्यु माथि चढाई दियो । न हात्तीले स्वीकार गर्नु न माउते खुशी र सुरक्षित हुनु । अहिले हात्ती माउते दुबै दीनदुखी र पीडित छन् ।
सत्ताले हतास्, अन्धाधुन्ध साईटिस् कानून स्वीकार ग¥यो । अन्तर्राष्ट्रिय कानुनको पक्षधर राष्ट्र भयो । तर ब्यबहारमा आन्तरिक घरेलु नीति नियम तर्जुमा गर्न चुक्यो ।
गएको सत्ताले बनमन्त्री पाएन । न यो सत्ताले पाएको छ । सत्ताको कराई र गराई अथवा प्राथमिकता यसैबाट अनुमान गर्न सकिन्छ । लठैत् र बिनासकारी भ्रष्ट राजनीतिक नेतृत्व आउनुभन्दा नआएको ठिक भन्ने संरक्षणप्रेमी समुदाय र एउटा हाके थपना गरेर प्रकृति लुट्न ढिलो भइसकेको ठान्ने बिचौलिया र दलालहरुको अन्तरद्वन्द्वमा प्रकृति पिल्सिएको छ ।
महापाप
प्रकृति, धर्म र संस्कृति जरैदेखि उखेलेर फ्याँक्न उद्यत् आधुनिक सत्ताले राष्ट्रिय प्रकृति संरक्षण गोष्ठी आयोजना गरेर पाप–धर्मको मूल्याँकन गर्ने की ?
किन मुलुकको प्रकृतिमाथि चौतर्फी आक्रमण भइरहेको छ ? तीब्र अतिक्रमण भइरहेको छ ? र अति दोहन, चोरी तस्करी, बिक्री वितरण भइरहेको छ ?
पशुश्रापले कहाँ पु-यायो संस्कृति र प्रकृतिको धनी त्यो पुरानो नेपाललाई ? किन हामी श्रीलंका पथमा छौं ?
किन संरक्षण ईतिहासलाई सुनिनसक्नु, पढिनसक्नु बनाउदै छौं ? र, भावी सन्ततीलाई जस्ताको तस्तै हस्तान्तरण गर्नुपर्ने प्रकृति ध्वस्त पार्न उद्यत छौं ?
पशुश्रापले हो आज हाम्रो देशलाई असफलउन्मुख बनाएको छ भन्ने पंक्तिकारको दाबी हो ।
पशुआशिषको बाटो
अर्थशास्त्र अथवा बाणिज्यशास्त्र अध्ययन गरेर अर्थ र करमा मालदार जागिरको बिकल्प त्यागेर जीवनभर हात्तीको अध्ययन, खोज, सोधमा लागिपर्नु हुने अध्येता, बिद्यार्थी, बिज्ञहरुको निःस्वार्थ त्यागलाई सम्मान र सलाम छ । ती सबै हात्तीबिज्ञहरु गोलबद्ध भएर हात्तीको रक्षा कल्याण सम्मानमा जुट्न र अन्धो बैरो सत्ताको आखा कान खोलिदिन जरुरी छ । हात्ती बिज्ञहरु एक्लो हुनुहुन्न । तपाईहरुसँग प्रकृतिप्रेमी, संरक्षणप्रेमी बिसाल समुदाय साथमा छ । कृपया तात्नुहोस्, बिगुल फुक्नुहोस् र बताई दिनुहोस् हात्ती ब्यवस्थापन र संरक्षणको सरल, सानदार र सफल उपाय अथवा भावी रोडम्याप । पहिलो सुझाव ।
दोश्रो सुझाव, स्थानीय सत्ता, सरकार र समुदायको पूर्व तयारी, खवरदारी र समन्वयकारी संरक्षण संकल्प हात्ती ब्यवस्थपानको रामबाण ओखती हो ।
तेश्रो, संरक्षण साझेदार संघ संस्थाहरुको संरक्षण शिक्षा, सचेतना, सूचना र प्रविधि तथा श्रोत साधनको जुगाड् अर्को महत्वपूर्ण संरक्षण औजार हो । हालै आईयुसिएनमा दर्ता भएको उज्यालो नेपालको मेची–महाकाली हात्ती संरक्षण पहल र प्रयास ज्यादै प्रभावकारी छ । हात्ती संरक्षणमा उहिलेदेखि योगदान पु¥याउदै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राबिधिक आर्थिक सहयोग ज्यादै प्रशंसनीय छ । सत्ताले फ्रण्टलाईनमा समर्पित यस्ता संस्थाहरुलाई श्रोत साधन सम्पन्न बनाउन अग्रसरता देखाउन जरुरी छ ।
चौथो, हात्तीको पुरानो बासस्थान र पदमार्गमा ब्यारेक, पोष्ट, चौकी खडा गरेर देशभरि तैनाथ भएका सुरक्षा निकायहरु हात्ती अनुगमन, नियन्त्रण, र संरक्षणमा प्रभावकारी मद्ददकार हुन सक्दछन् ।
प्रकृतिको यो पवित्र सेवालाई ती सुरक्षा निकायहरुलाई छुट्टै म्याण्डेट र लिखित मौखिक आदेश चाहिदैन, जसरी उद्धार र बिपद् ब्यवस्थापनमा कसैको आदेश चाहिदैन । तर शिक्षा, सचेतना, सतर्कता र समन्वय चाहिन्छ, जुन स्थानीय सत्ता, सरकार र समुदायको काम हो । हात्तीबिज्ञहरु, हात्ती संरक्षणका अभियन्ताहरु सम्मिलित एनजिओ आईएनओले सुरक्षा निकायहरुलाई आवस्यक तालिम, प्रशिक्षण, उपकरण र श्रोत साधन उपलब्ध गराई दिनुपर्दछ । सुरक्षा निकायहरुलाई तताउने, जगाउने, उठाउने र संयुक्त परिचालन गर्ने गराउने अगुवाई संरक्षणको ऐतिहासिक खम्बा नेपाली सेनाले गरिदिनुपर्दछ । नत्र, सुरक्षा निकायहरुलाई समेत दोष र पशुश्राप लाग्ने छ ।
पाचौं, प्रकृतिमैत्री र संरक्षणप्रेमी भएर हरित सुशासन दिन सरकारलाई महाढिला भइसकेको छ । कुशासनले दातृ राष्ट्र र निकायहरुको भागारेभाग छ । बन क्षेत्र बढाउन र प्रकृति संरक्षणलाई उच्च प्राथमिकता दिन सरकारले अव बिलम्ब गर्नु हुँदैन । साथै, शीघ्र हात्ती ब्यवस्थापन नीति पुनरावलोकन गर्ने, जंगली र पाल्तु दुबै हात्तीलाई उचित ब्यवस्थापन र संरक्षणको प्रत्याभूत गर्ने, हात्तीको पदामार्ग चुरे संरक्षण कार्यक्रमलाई सफल बनाउने काममा तालुक मन्त्रालयले ध्यान केन्द्रित गर्न जरुरी छ । पाल्तु प्राईभेट हात्तीलाई निश्चित चरन क्षेत्र दिन अथवा ती हात्तीलाई सरकारले किनेर छुट्टै हात्ती रेफ्युज् बनाई पाल्ने पहलकदमी बान्छनीय हुनेछ । पशुआशिष प्राप्तीको बाटो खुल्ने छ । तालुक मन्त्रीले सरोकारवाला सबैलाई समेटेर केन्द्रमा टिमबिल्डङ्गको पहल गरिदिनुपर्दछ ता कि स्थानीय तहमा सानदार टिमवर्क प्रवाह होस् र सफल परिमाण निस्कियोस् ।
छैठौं, सुरक्षा निकायहरु र सिआईबीले सुरक्षा बिश्लेषण गरुन कि मुलुकमा कुशासन प्रतिको बितृष्णा, घृणा, आक्रोस र बिद्रोहको ज्वाला कसरी बलिरहेको छ ? मानिसहरु कति तनावग्रस्त र पागल भइरहेका छन् ? र, भावी चुनौती कति अकल्पनीय र निर्मम् हुने छन् ?
अन्त्यमा, मुलुक उदण्ड, अपराधी र आतंककारीहरुको कारखाना नहोस् । बिश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको आगनमा घटाइएको यो अकल्पनीय र जघन्य पशुअपराधको स्वतन्त्र र निर्भिक छानबिन होस् र दोषीलाई कानूनको कठघरामा उभियाइयोस् ।
सुँड, हात, मुख, नाक जे भने पनि हात्तीको होइन सत्ता, सरकार, ब्यवस्थापक, संरक्षकको काटिएको हो भन्ने कुरा सबैले मनन् गरुन् र प्रकृति संरक्षणप्रति संबेदनशील र जवाफदेही हुन् । पल्लो घरको राष्ट्रिय निकुञ्ज प्रशासन र नेपाली सेनाका फ्रन्टलाइन संरक्षणकर्मीहरु कानमा तेल हालेर होइन, सक्रिय भएर समग्र संरक्षणस्तर माथि उठाउन दत्तचित्तसाथ लागून । हात्ती र बन्यजन्तु अधिकारकर्मी तथा संचारकर्मीहरुले प्रकृतिको स्वर्ग मुलुकमा प्रकृति र प्रकृतिका उपहारको संरक्षणका खातिर साहसिक र सानदार पैरवी गरुन् ।
(लेखक संरक्षणकर्मी हुन्)
प्रतिक्रिया