कांग्रेसको ढोक्साभित्र हुकुमको एक्का

कांग्रेसको ढोक्साभित्र हुकुमको एक्का



प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन अर्थात् पुस २६ गते दिउँसो संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय ग-यो । संसदको रोष्टममा उभिएर सभापति देउवाले विश्वासको मत दिने बताएपछि रोष्टमबाटै सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको निर्णयमा आशंका गरे । उनले आशंका गर्दै कांग्रेसले जाल फ्याकेको र ढोक्सा थापेको मात्र भनेन्न, ‘यदि ढोक्सा थापेको हो भने माछा पर्नेवाला छैन, कांग्रेसको मेहेनत खेर जानेछ ।’ चेतावनी शैलीमा भने ।

प्रधानमन्त्री दाहाललाई मत दिने निर्णय मूल्य मान्यता र संसदीय राजनीतिको अभ्यासभन्दा बाहिर गएको अध्यक्ष ओलीकै भाषामा कांग्रेसले ढोक्सा थाप्यो भनेर पार्टीभित्रैबाट एकथरिले देउवाको चर्को आलोचना गरे । त्यसो त कांग्रेस पदाधिकारी बैठकमै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विरोध थेगिनसक्नु थियो । महामन्त्रीद्वय थापा र शर्मालाई पूर्वमहामन्त्री विमलेन्द्र निधिले चित्त बुझ्ने गरी सम्झाएपछि असहमतिको चर्को स्वर एकाएक मत्थर हुन पुग्यो । विमलेन्द्र दाइबाट हामीले धेरै कुरा सिक्न बाँकी रहेछ भन्दै पदाधिकारी बैठकबाट महामन्त्री शर्मा बाहिरिएका थिए ।

संसदको सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्रीमा अडान नछाड्दा सत्ता गुम्यो । यस विषयमा संसदीय राजनीतिक अभ्यास, नैतिक मूल्य र मान्यताको कुरा आएन, सत्ताको ‘लोभी’ उपनाम दिइयो । संसदको दोस्रो र तेस्रो दल मिलेर सत्ता सञ्चालन गरे, त्यसमा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दियो । त्यहाँ राजनीतिक मूल्य र मान्यता मात्र होइन संसदीय अभ्यासको कुरा पनि उठाइयो । राजनीतिक स्थिरताका लागि कांग्रेसको ‘मुभ’ ठीक होला वा नहोला त्यो राष्ट्रपतिको निर्वाचनमा अवश्य देखिने छ । तर, एउटा कुरा के हो भने कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थनले संसदलाई अकाल मृत्यु हुनबाट जोगाउँछ भन्ने विश्लेषण भने गरिएको छ ।

विभिन्न चरणमा अनौपचारिक रुपमा भएका कुरालाई औपचारिकता दिन प्रधानमन्त्री दाहाल आँफै सभापति देउवा निवास पुगेका हुन् । एमाले अध्यक्ष ओलीको बैशाखीमाथि शंका लागेरै दाहाल मत माग्न धुम्बराही पुगेका हुन् भन्दा अतिशयोक्ति नहोला ।

सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत हुँदाहुँदै प्रधानमन्त्री दाहाल कांग्रेससँग मत माग्न सभापति शेरबहादुर देउवा निवास धुम्बराही पुगे । विभिन्न चरणमा अनौपचारिक रुपमा भएका कुरालाई औपचारिकता दिन प्रधानमन्त्री दाहाल आँफै सभापति देउवा निवास पुगेका हुन् । एमाले अध्यक्ष ओलीको बैशाखीमाथि शंका लागेरै दाहाल मत माग्न धुम्बराही पुगेका हुन् भन्दा अतिशयोक्ति नहोला ।

विश्वासको मत लिएको दिन संसदमा एमाले अध्यक्ष ओलीले कांग्रेसले संसद विघटन गरेको इतिहास पटक पटक दोहो-याए । आफूले संसद विघटन गर्ने निणर्य गरेको जायज थियो र प-यो भने फेरी पनि आफ्नो निर्देशनमा प्रधानमन्त्री दाहालमार्फत् गराउन चाहेको संकेत गरेका थिए । उनको भनाईले संसदमा आशंका उब्जियो । त्यसकै प्रतिरोधका लागि कांग्रेसले विश्वासको मत दिएको देखियो । यसले सत्तामा अध्यक्ष ओलीको हालिमुहाली मात्र रोकिएको छैन, उदण्डता कम भएको छ, स्वर मलिन भएको छ । किनभने प्रधानमन्त्री दाहालसँग एमालेको विकल्प मौजुद भयो ।

प्रधानमन्त्री दाहालले कांग्रेसलाई के कुरामा मनाए त्यो अहिलेसम्म सार्वजनिक भएको छैन । प्रधानमन्त्री दाहाल सत्तामा एमाले अध्यक्ष ओलीको उदण्डता रोक्न चाहन्छन् । हुकुमको एक्का खल्तीमा बोकेर अध्यक्ष ओली दाहाललाई झोलुङ्गोको नानी बनाउन चाहन्थे । तर, सत्ता संचालकलाई त्योभन्दा हिनताबोध अर्को हुँदैन भन्ने कुरा ओलीले पनि नबुझेका होइनन् । तर, ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई आफ्नै इसारामा नचाउने काम शुरु गरेपछि दाहाल एकाएक झस्किएका थिए ।

त्यसपछि दाहालले कांग्रेसको समर्थन खोज्न थाले । राजनीतिक विश्लेषक सीके लालले भनेजस्तै तासको खेलमा भन्ने हो भने गुलाम निश्चय पनि दहलभन्दा ठूलो हो । पुष्पकमल दाहालले बेगम हाने, गुलामभन्दा बेगम ठूलो भयो । कांग्रेसले त्यसमाथि बादसा हानेको छ । त्यो बेगमभन्दा पनि माथि भयो । अब एक्का कोसँग छ भन्ने कुरो राष्ट्रपति निर्वाचनमा देखिन्छ । त्यसबेला दाहाल के हुन भन्ने देखिन्छ । उनी साँच्चिकै गुलाम हुन् कि अथवा अरु केही हुन् त्यसबेला स्पष्ट हुनेछ ।

यता, हुकुमको एक्का आफैसँग राखेर प्रधानमन्त्री दाहाल दुवै नाउ एकसाथ अघि बढाउन चाहन्छन् । आफू चढेको नाउ डुब्ने अवस्था सिर्जना भए अर्कोमा फड्को हान्ने प्रयास गर्लान् । उता, सत्ता पनि नछाड्ने, आफू अनुकूल अवस्था सिर्जना नभएसम्म प्रधानमन्त्री दाहाललाई झोलुङ्गोमा हल्लाइरहने अध्यक्ष ओलीको रणनीतिक दाउ छदैँछ । यी दुई स्वार्थको बीचमा कांग्रेस उभिएको छ ।

एमालेको बैशाखीमा भविष्य नदेखेका प्रधानमन्त्री दाहालले राष्ट्रपति र सभामुख दुवै पद एमालेलाई दिन्छन् भन्ने कुरामा संशय गर्ने ठाउँ प्रशस्त छन् । यी दुवै पद एमालेलाई सुम्पिने हो भने माओवादी पार्टी मात्र होइन, प्रधानमन्त्री दाहालकै राजनीतिक यात्रा नै धरापमा पर्ने आंकलन स्वयम् माओवादीले नै गरेको छ । त्यसैले दुईमध्ये एउटा पद प्रधानमन्त्री दाहालले आफूसँग राख्ने प्रयास अन्तिमसम्मै गर्नेछन् ।

यदि सम्भव भएन भने राष्ट्रपति कांग्रेसलाई सुम्पिनुपर्ने बाध्यतामा प्रधानमन्त्री दाहाल पुग्ने छन् । त्यसपछि देशको राजनीतिले कुन मोड लिने हो अहिले नै भन्न सकिने अवस्था छैन । एमाले अध्यक्ष ओलीकै शब्दमा भन्ने हो भने कांग्रेसले थापेको डोक्साभित्र हुकुमको एक्का छ । त्यो एक्का कहाँ–कहाँ प्रयोग हुन्छ र राजनीतिलाई कतातिर लैजान्छ भन्ने जान्न भने अझै केहि हप्ताहरु कुर्नुपर्ने हुन्छ ।