ठेगान को लाग्योः देउवा कि दाहाल ?

ठेगान को लाग्योः देउवा कि दाहाल ?



नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसमा अहंकार बढे नेकपा एमालेलाई जस्तै ठेगान लगाइ दिने धम्की दिएका छन् । स्थानीय चुनावमा पार्टीभित्रको चर्को विरोधको बाबजुद सम्मानपूर्ण विजय हासिल गर्न सहयोग पुर्‍याएको दल नेपाली कांग्रेसलाई ठेगान नै लगाउनुपर्ने आवश्यकता किन भन्ने स्पष्ट खुलाउन नसके पनि छोरीसमेतलाई जिताउन त्याग नै गरेको पार्टीमाथि किन जाइलागे ? उनले भनेजस्तो भएन कि या सबै ठाउँमा छोरीको लागि मात्र लागिपरेको आरोप लाग्यो पार्टीभित्र दाहालले अरुलाई ठेगान लगाउने कुरा गर्दा आफै ठेगान लागेको यथार्थता चाहिँ ख्याल गरेनन् ।

पार्टी एकता बचाउन नसक्नु हिजोका सहयात्रीहरु छिन्नभिन्न भएर अलगअलग हुनु, आफू ठेकेदारको आलिसान महलमा बस्नु, पार्टीका पदाधिकारीहरु चयन गर्न नसक्नु, नेता कार्यकर्ता, घाइते, शहीद परिवारका सदस्यले भन्दा दलाल, तस्कर र माफियाले सहज पहुँच पाउनु जस्ता घटनाक्रमहरुले आफ्नो सान्दर्भिकतामाथि प्रश्न उठाइरहेको अवस्थामा कांग्रेसको साथले नै वैतर्णी तर्दै आएका दाहालले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग के बार्गेनिङका लागि अहंकार देखाएर ठेगान लगाउने हुँकार दिएका हुन् ? यिनको विगतको गतिविधि, भूमिका र पृष्ठभूमि आम जनताले बुझेका छैनन र ? नेकपा माओवादी आउने प्रदेश र संघीय संसदको निर्वाचनमा एक्लै चुनाव लड्ने आँट गर्न सक्छ ? त्यो हैसियत नभएका दाहालले कांग्रेसलाई ठेगान लगाउने ? कांग्रेसलाई कांग्रेसभन्दा बाहेक अरु कसैले ठेगान लगाउनै सक्दैन । ठेगान लाग्न लाग्न थालेका दाहाललगायतका व्यक्ति र दलहरुलाई कांग्रेसले नै उठाएको होइन र ?

यस्तो अहंकारी र परिवारवादी सोच, चिन्तन, दृष्टिकोण र धारणा त्याग्न नसकेसम्म दाहालको अभिव्यक्तिलाई कसैले पनि गम्भीरतापूर्वक लिदैनन् । उनी च्याखे थापेर अन्य दल र नेतृत्वलाई अल्झाउने र बल्झाउने अनि आफ्नो पसल चलाउने पात्र मात्र हुन् भन्ने बुझ्दछन् ।

देशका युवाहरुले आफ्नो भाग्य र भविष्य देशभित्र नभएको निष्कर्ष निकाली विदेशिने क्रम तीब्र बनाएका छन् । अध्ययनका लागि मात्र विदेशिएको रकम धेरै ठूलो भएको आकडा आइरहेकै छ । रोजगारीका लागि विदेश जानेहरुको संख्या उल्लेख छ । देशलाई माया गर्ने विदेसिएका नेपाली आफ्ना छोराछोरीहरुको भविष्यका खातिर देश फर्कन नसकेको दुखेसो गर्छन् । भ्रष्टचारको चरम रुपले देशको आर्थिक अवस्था असन्तुलित मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा विश्वसनियता गुमाउँदै गएको छ । सत्तारोहरणका लागि जुनसुकै मूल्य चुकाउने नेपाली राजनीतिको चरित्रले मूल्यहिनताको परिचय बनाइरहेको छ । यस्तो कहाली लाग्दो चित्र अगाडि देखिएको परिस्थितिप्रति बेखबर पुष्पकमल दाहाल कहिले एमाले त कहिले कांग्रेसलाई धम्क्याएर सत्ताको साँचो बन्न खोजिरहेका छन् । उनको कुनै राष्ट्रिय दृष्टिकोण छैन । केवल सत्ता र स्वार्थका लागि कांग्रेससँग मिल्ने कि एमालेसँगै मिल्ने मिलाउने भन्न ध्याउन्न मात्र देखिन्छ । यही स्थानीय निर्वाचनमा गठबन्धन नभएर एक्लै निर्वाचन लडेको भए माओवादीको असली हैसियत त देखिन्थ्यो नै, त्यसबाट बचेका दाहालले अरुलाई होइन, एकपटक राम्रोसँग आफूलाई समिक्षा गरुन् । ‘जनयुद्ध’ देखि ‘धनयुद्ध’ सम्मको दाहालको यात्रा कति सुरक्षित र विश्वसनीय रहेको छ ।

कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग चोक्टा खान हाम फालेका दाहाललाई ओलीले झोलमा डुबाएपछि पचास वर्ष शासन गर्छौ भन्ने ओली–दाहाल अहँकार ध्वस्त भएको होइन र ? पहिला आफू राम्रोसँग सिक्नुस्, बुझ्नुस, विश्लेषण र समीक्षा गर्नुस् अनि मात्र अर्को पक्षसँग संवादका लागि तयार रहनुस्, जनताका अगाडि मुख खोल्नुस् ।

नेपाली समाजमा दाहालको कस्तो बुझाइ र प्रभाव छ ? कडा सुरक्षा दस्ताभित्र कालो सिसा लगाएको महँगो गाडीभित्र सवारी चलाउँदैमा हैसियत बढ्ने होइन । नेपाली जनताको मनभित्र कुन स्थान र सम्मान छ त्यसले राजनीतिक नेतृत्वको कद निर्धारण हुन्छ । हिजोको कठिन यात्रामा साथ दिएका साथीहरुलाई साथमा लिएर हिड्न नसकेका असफल र अक्षम व्यक्तिले अरुलाई ठेगान लगाउने अभिव्यक्ति दिनु चाहिँ अहँकार हो । यस्तो अहंकारी र परिवारवादी सोच, चिन्तन, दृष्टिकोण र धारणा त्याग्न नसकेसम्म दाहालको अभिव्यक्तिलाई कसैले पनि गम्भीरतापूर्वक लिदैनन् । उनी च्याखे थापेर अन्य दल र नेतृत्वलाई अल्झाउने र बल्झाउने अनि आफ्नो पसल चलाउने पात्र मात्र हुन् भन्ने बुझ्दछन् ।

अब नेकपा माओवादी केन्द्रका अन्य सम्भावना भएका नेता कार्यकर्ता छन् भने कांग्रेस एमालेको बैशाखीमा होइन, आफ्नै बल, बुद्धि, क्षमता र सीपमा अगामी निर्वाचनमा प्रतिस्पर्धा गर्छौ भन्न सक्नुपर्छ । पार्टीलाई त्यही रुपमा विकास गर्न सक्नुपर्छ । कहिले एमालेसँग त कहिले कांग्रेससँग प्रणय प्रस्ताव राखी रमाइलो गर्ने तर आफ्नै सुनिश्चित भविष्यका बारेमा नसोच्ने नेतृत्वलाई विदावारी गर्न पार्टीपंक्ति तयार हुनुपर्छ । माओवादीभित्र ‘नयाँ वर्ग’ जन्मिएको यथार्थता बुझ्न कहिँ जानुपर्दैन अध्यक्ष दाहाल । उनको रहनसहन र परिवारका सदस्यहरुको जीवनशैली हेरे पर्याप्त हुन्छ । यसरी समाजवादको लक्ष्यमा पुग्न सकिन्छ ? देशलाई स्वतन्त्र, स्वाधीन र सार्वभौम राख्न सकिन्छ । आफ्नो स्वार्थपूर्तिका लागि दाहालले कहिले भारत, कहिले चीन गुहार्ने र सहयोग लिने गरेका होइनन् ? यस्ता अस्थिर र अविश्वसनीय व्यक्तिगत कसरी एकता, सहकार्य र विश्वास गर्न सकिन्छ ? चितवनबाट लड्डु खुवाउन सिधै देउवा निवास पुगेका दाहालले एमाले–माओवादी एकता बचाउन के योगदान गरे ? कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग चोक्टा खान हाम फालेका दाहाललाई ओलीले झोलमा डुबाएपछि पचास वर्ष शासन गर्छौ भन्ने ओली–दाहाल अहँकार ध्वस्त भएको होइन र ? पहिला आफू राम्रोसँग सिक्नुस्, बुझ्नुस, विश्लेषण र समीक्षा गर्नुस् अनि मात्र अर्को पक्षसँग संवादका लागि तयार रहनुस्, जनताका अगाडि मुख खोल्नुस् । तपाईंको मुख धेरै हेरिहालौं जस्तो छैन भन्ने राम्रोसँग बुझ्नुस् ।

नेपाली कांग्रेसले पनि घटनाक्रमलाई सुक्ष्म किसिमले विश्लेषण गरेको छैन, गर्न आवश्यक ठानेको छैन होला । धेरै हदसम्म जनता र कार्यकर्ताले रुचाएका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा आफ्नै गृहनगरको पराजयले भयवित भएका छन् कि आगामी कार्यभार र कार्यदिशाका बारेमा मौन छन् । व्यक्तिगत रुपमा म त धेरै आशावादी होइन, उनीहरुलाई धेरथोर चिनेकै होला, आम मानिसप्रति उत्तदायी र जवाफदेही हुनुपर्ने दायित्व थापा र शर्माले भुलेकै त पक्कै होइन होला । एउटा निर्वाचन हार्नुपर्ला तर पुष्पकमल दाहालहरुलाई सँगसँगै लिएर हिड्न कति आवश्यक हो ? के का लागि त्यो सेतो हात्ती पालिरहनुपर्छ ? यसबारेमा त बृहद दृष्टिकोण बनाउनुस् । देशमा शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको सुनिश्चिततातर्फ केन्द्रित हुनुस् । जसले कलिलो उमेरमा विदेशी श्रम बजारमा जान बाध्य नबनाओस् र यस्ता दम्भीहरुलाई जवाफ पुगोस् ।