Category: प्रदेश

  • नेविसंघको महामन्त्रीमा यादव नियुक्त

    नेविसंघको महामन्त्रीमा यादव नियुक्त

    काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा सुनसरीका कपिलेश्वर यादव नियुक्त भएका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार नेविसंघको महामन्त्रीमा यादवलाई आइतवार नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

  • हृदयेश त्रिपाठी स्वतन्त्र सांसद !

    हृदयेश त्रिपाठी स्वतन्त्र सांसद !

    काठमाडौं । एमालेको चुनाव चिन्ह सूर्य लिएर नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हृदयेश त्रिपाठी स्वतन्त्र सांसदको सूचीमा परेका छन् ।

    संघीय संसद सचिवालयको आधिकारिक वेबसाइटमा प्रतिनिधिसभा सदस्यहरूको विवरणमा त्रिपाठी स्वतन्त्र सांसदको सूचीमा परेका हुन् ।

    स्वतन्त्र सांसदको पहिलो नम्बरमा छक्कबहादुर लामा र दोस्रो नम्बरमा त्रिपाठीलाई राखिएको छ ।

    यसबारे संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अनभिज्ञता देखाए । ‘उहाँ(हृदयेश त्रिपाठी) स्वतन्त्र सांसदको सूचीमा हुनुहुन्छ र’, प्रतिप्रश्न गर्दै प्रवक्ता पाण्डेले भने, ‘यसबारेमा बुझ्छु ।’

  • वीपी प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सेवा बन्द

    वीपी प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सेवा बन्द

    सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षले अत्यावश्यक बाहेकका काम बन्द गरेका छन् । विभिन्न मागसहित आन्दोलनमा रहेका प्रतिष्ठानका प्रध्यापक, कर्मचारी र चिकित्सकहरुले अत्यावश्यक बाहेकका सेवा छाडेका हुन् ।

    झण्डै तीन महिनादेखि प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनरत प्राध्यापक, कर्मचारी र विद्यार्थीले इमरजेन्सी, कोरोना संक्रमितको उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकमा सेवा बन्द गरेका हुन् । संयुक्त संघर्ष समितिले सरकारले माग सम्बोधन गर्न ध्यान नदिएपछि बिहीबार काम छाड्ने चेतावनी दिएको थियो । माग सम्बोधन गर्न चासो नदिएपछि काम छाडिएको संयुक्त संघर्ष समितिको भनाइ छ ।

    एक महिनाअघि सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलले पदाधिकारीहरूलाई कारबाही गर्न गरिएको सिफारिस र आन्दोलनरत पक्षसँग ६ बुँदे सम्झौता गरेको थियो । तर एक महिनासम्म सम्झौता कार्यान्वयनमा आउन सकेको छैन ।

    आन्दोलनरत पक्षले प्रतिष्ठानका पदाधिकारीको बहिर्गमनको माग गर्दै आएको छ । प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्ने, अनियमितता रोक्नुपर्नेलगायत माग राख्दै शुरु भएको आन्दोलनको माग सम्बोधन गर्न सरकारले चासो नदिएको संघर्ष समितिको गुनासो छ । आन्दोलन नरोकिएपछि प्रतिष्ठानका रजिस्ट्रार डाक्टर मोहनचन्द्र रेग्मीले गएको भदौ ११ गते राजीनामा दिनुभएको थियो ।

  • सुदूरपश्चिम सरकारले विजनेस नदिँदा प्रदेशसभा बैठक अनिश्चित

    सुदूरपश्चिम सरकारले विजनेस नदिँदा प्रदेशसभा बैठक अनिश्चित

    धनगढी । सुदूरपश्चिम सरकारले विजनेस दिन नसक्दा प्रदेशसभाको बैठक अनिश्चित बनेकोछ । ३० साउनमा ‘सुदूरपश्चिम प्रदेश प्रहरी ऐनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ माथि सामान्य छलफल गरेर अर्को सूचना जारी नहुँदासम्म बैठक स्थगित गरिएको थियो । त्यसयता विजनेस नभएको भन्दै प्रदेशसभा बैठक बोलाइएको छैन ।

    सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले हाल प्रदेश सभामा विधेयक पेश नभएको बताए । १६ भदाैमा लोकसेवा आयोगको संशाेधनसम्बन्धी बनेको विधेयक प्रदेशसभा सचिवालयमा पेस गरिएकाे थियाे । तर, विधेयक अधुरो देखिएपछि फिर्ता पठाइएको छ ।

    विधेयकमा मन्त्रीको हस्ताक्षर हुनुपर्नेमा सचिवको हस्ताक्षर पाइएपछि उक्त विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा फिर्ता पठाइएको उनले बताए ।

    सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र दलित सशक्तिकरणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७७ विधायन समितिका छलफलका क्रममा छन् ।

    सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ र प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गरिएकोमा दुईवटै विधेयक विधायन तथा प्रदेश मामिला समितिमा छलफलका लागि पठाइएका छन् । ती विधेयक प्रदेश सभामा कहिले पेस हुन्छ यकीन छैन । प्रदेश सरकारले प्रदेशसभाबाट संशाेधनसहित ५३ ऐन पारित गरेको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत मोहनराज जोशीले छलफलमा रहेका विधेयक संसदकै अंग रहेकाले संसद सुचारु रहेको बताए ।